Notes on नेपाली शब्दको पहिचान र प्रकार | Grade 11 > Nepali > भलादमी | KULLABS.COM

नेपाली शब्दको पहिचान र प्रकार

  • Note
  • Things to remember

नेपाली शब्दको पहिचान र प्रकार

शब्द भाषाको अर्थपूर्ण एकाइ हो। भाषिक प्रयोगमा शब्दको विशिष्ट भूमिका रहन्छ। यसले भाषाको बोध तथा अभिव्यक्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। शब्दको अभावमा भाषाको परिकल्पना असम्भव छ। भाषाको अर्थपूर्ण रुपभन्दा माथिल्लो र पदभन्दा तल्लो एकाइ नै शब्द हो।

शब्दको प्रकार

शब्द एक वा अनेक वर्ण वा अक्षरले बनेको स्वतन्त्र एवम् भाषिक एकाइ हो। शब्द विभिन्न प्रकारका हुन्छन् र यिनलाई वर्गीकरण गर्ने आधार पनि विभिन्न हुन्छन्। नेपाली भाषाका शब्दहरुको वर्गीकरण निम्नानुसार गरिएको छ।

  • स्रोतको आधारमा
  • बनोट/ संरचनाको आधारमा
  • रुपायनका आधारमा
  • कार्यका आधारमा
  • अर्थका आधारमा

 

स्रोतको आधारमा शब्दको वर्गीकरण

स्रोत भनेको शब्द उत्पति भएको ठाउँ हो। भाषामा प्रयुक्त शब्दहरु जुन मूल भाषाबाट आएका हुन् त्यसलाई शब्दस्रोत भनिन्छ। शब्द आगमनको मूल स्रोत पत्ता लगाई त्यसकै आधारमा शब्दको वर्गीकरण गर्नु नै स्रोतका आधारमा शब्दको वर्गीकरण गर्नु हो। नेपाली भाषाका शब्दहरुलाई निम्न दुई भागमा वर्गीकरण गर्न सकिन्छ।

  • मौलिक शब्द
  • आगन्तुक शब्द
मौलिक शब्द

कुनै पनि भाषाका आफ्नै वा आफ्नो माउ स्रोतका शब्दलाई मौलिक शब्द भनिन्छ। नेपाली भाषाका मौलिक शब्द संस्कृत भाषाबाट उत्तराधिकारीका रुपमा आएका शब्द हुन्। संस्कृत भाषाबाट आएका शब्दहरु नेपालीमा प्रशस्त छन्। यसरी नेपालीमा शब्दहरु भित्रिने क्रममा केही शब्द प्राकृत रुपमै भित्रिएका पाइन्छन् भने केही अपभ्रंश भएर भित्रिएका देखिन्छन्। यस आधारमा मौलिक शब्दलाई दुई भागमा विभाजन गर्न सकिन्छ।

तत्सम शब्द
संस्कृतबाट आएको त्यस्तै रुप नफेरिइकन नेपालीमा आएका शब्दलाई तत्सम शब्द भनिन्छ। परम्परागत अर्थमा तत् भनेको त्यो अर्थात संस्कृत र सम भनेको बराबर अथवा समान भन्ने हुन्छ।
जस्तै: विवेक, साहित्य, सम्मान, दर्शन आदि।

तद्भव शब्द
नेपाली भाषाको माउ अर्थात जननी भाषा संस्कृतबाट रुप फेरिएर आएका शब्दलाई तत्भव शब्द भनिन्छ। अर्थात पुर्ख्यौली भाषा संस्कृतबाट प्राकृत अपभ्रंश हुँदै रुप परिवर्तन गरि नेपालीमा आएका शब्दलाई तत्भव शब्द भनिन्छ।
उदाहरण: घर, माटो, हात, चैत, असार आदि।

आगन्तुक शब्द
नेपाली भाषाको सन्दर्भमा संस्कृत बाहेक अन्य भाषाबाट नेपाली भाषामा आएका शब्दलाई आगन्तुक शब्द भनिन्छ। नेपालीमै बोलिने विभिन्न राष्ट्रिय भाषाहरु तथा विदेशमा बोलिने विभिन्न भाषाबाट नेपालीमा आएका शब्दहरु आगन्तुक शब्द अन्तर्गत पर्दछन्। यस आधारमा आगन्तुक शब्दलाई निम्न दुई प्रकारमा बाड्न सकिन्छ।

स्वदेशी आगन्तुक शब्द
देश भित्रका विभिन्न भाषा, भाषिका तथा मातृभाषाहरुबाट नेपालीमा आएका शब्दहरुलाई स्वदेशी आगन्तुक शब्द भनिन्छ।
उदाहरण: पसल, रोदी, घले, गुन्द्रुक आदि।

विदेशी आगन्तुक शब्द
नेपालमा भाषाहरु बाहेक अन्य विदेशी भाषाबाट नेपाली भाषामा आएका शब्दहरुलाई विदेशी आगन्तुक शब्द भनिन्छ। विदेशी भाषाबाट नेपाली भाषामा शब्दहरु भित्रिने क्रममा कतिपय शब्द सामान्य परिवर्तन भएर त कतिपय शब्द परिवर्तन नभई जस्ताको त्यस्तै भित्रिने गर्दछन्। विदेशी आगन्तुक शब्दलाई दुई भागमा विभाजन गरिएको छ।

परिवर्तित आगन्तुक शब्द
विदेशी भाषाबाट नेपाली भाषामा शब्दहरु भित्रिदा परिवर्तन भइ भित्रिने शब्दलाई आगन्तुक शब्द भनिन्छ।
उदाहरण:अस्पताल, कप्तान, कर्नेल, जर्नेल आदि।

अपरिवर्तित आगन्तुक शब्द
विदेशी भाषाबाट नेपाली भाषामा शब्दहरु भित्रिदा जस्ताको तस्तै व परिवर्तन नभई आएका शब्दलाई अपरिवर्तित आगन्तुक शब्द भनिन्छ।
उदाहरण: कोट, बस, चाउचाउ, खबर आदि।

बनोटको आधारमा शब्दको वर्गीकरण

शब्द बन्ने प्रक्रियालाई बनोट भनिन्छ। बनोटलाई निर्माण प्रक्रिया वा व्युत्पादन पनि भनिन्छ। बनोट वा व्युत्पादन भनेको शब्द व्युत्पति हो। नेपाली भाषामा केही शब्दहरु आफै बनेका अर्थात पूर्ण स्वरुपका अर्थात निर्माण प्रक्रिया देखाउन नसकिने खालका छन् भने केही शब्दहरु उपसर्ग, प्रत्यय, समास, द्वित्व, सन्धीजस्ता प्रक्रियाद्वारा बनेको वा निर्माण प्रक्रिया देखाउन सकिने खालका छन्। यस आधारमा नेपाली भाषाका शब्दलाई निम्न दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ।

  • मूल शब्द
  • व्युत्पन्न शब्द

 

मूल शब्द
अन्य कुनै पनि शब्दबाट नबनी आफै सहज रुपमा निर्मित शब्दलाई मूल शब्द भनिन्छ। अर्को शब्दमा भन्दा आफै बनेका अर्थात पूर्ण स्वरुपका अनि दुई वा सो भन्दा बढि सार्थक टुक्रामा टुक्राउन नसकिने खालका शब्दलाई मूल शब्द भनिन्छ। नेपालीमा उपसर्ग, प्रत्यय नलागेका अनि समास द्वित्व र सन्धी नभएका शब्द अन्तर्गत पर्दछन्।
उदाहरण: खा, जा, भन् आदि।

व्युत्पन्न शब्द
शब्द निर्माण गर्ने विभिन्न तरिकाबाट बनाइएका शब्दलाई व्युत्पन्न शब्द भनिन्छ अर्थात कुनै पनि मूल शब्दमा सरग अर्थात प्रत्यय वा उपसर्ग लागेर बनेका शब्दलाई व्युत्पन्न शब्द भनिन्छ। यस्ता शब्दलाई दुई वा सो भन्दा बढि सार्थक टुक्रामा अलग्याएर देखाउन सकिन्छ।
उदाहरण: प्रकार(प्र+कार), धनी(धन+ई), विदेश(वि+देश) आदि।

रुपायनका आधारमा

शब्दको रुप फेर्ने प्रक्रियालाई रुपायन भनिन्छ। व्यापारणिक कोटिका आधारमा रुप परिवर्तन गरेर शब्द निर्माण प्रक्रिया नै रुपायन हो। वाक्यमा प्रयोगयोग्य बनाउनका लागी शब्दलाई व्याकरणिक कोटी (लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, भाव, वाच्य, करण, अकारण आदि) का आधारमा परिवर्तन गरि नयाँ नयाँ शब्द निर्माण गर्ने प्रक्रियालाई नै रुपायाना भनिन्छ। वस्तुत: व्यापारणिक कोटिका आधारमा एकभन्दा बढी रुप बन्ने बिकारी शब्द (नाम, सर्वनाम, विशेषण, र क्रिया) को मात्रा रुपायन हुन्छ; अविकारी शब्द (क्रियाविशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक र निपात) को हुदैन। यस आधारमा शब्दलाई निम्न दुई प्रकारमा बाड्न सकिन्छ।

  • विकारी शब्द
  • अविकारी शब्द

 

विकारी शब्द

व्यापारणिक कोटि जस्तै लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, भाव, वाच्य, करण, अकारण आदिका आधारमा रुप परिवर्तन हुने शब्दलाई विकारी शब्द भनिन्छ। यस अन्तर्गत नाम, सर्वनाम, विशेषण र क्रिया वर्गका शब्द पर्दछन्।
उदाहरण: छात्रा(छात्र+आ), केटी(केटो+ई), चरा(चरो+आ) आदि।

 

अविकारी शब्द

व्यापारणिक कोटि जस्तै लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, भाव, वाच्य, करण, अकारण आदिका आधारमा रुप परिवर्तन नहुने शब्दलाई अविकारी शब्द भनिन्छ। यस अन्तर्गत नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक र निपात वर्गका शब्द पर्दछन्।

उदाहरण:माथि , तर ,है 



  • शब्द भाषाको अर्थपूर्ण एकाइ हो।
  • भाषिक प्रयोगमा शब्दको विशिष्ट भूमिका रहन्छ।
  • नेपाली भाषाको माउ अर्थात जननी भाषा संस्कृतबाट रुप फेरिएर आएका शब्दलाई तत्भव शब्द भनिन्छ।
  • शब्द बन्ने प्रक्रियालाई बनोट भनिन्छ। बनोटलाई निर्माण प्रक्रिया वा व्युत्पादन पनि भनिन्छ।
  • व्यापारणिक कोटि जस्तै लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, भाव, वाच्य, करण, अकारण आदिका आधारमा रुप परिवर्तन हुने शब्दलाई विकारी शब्द भनिन्छ।
  • व्यापारणिक कोटि जस्तै लिङ्ग, वचन, पुरुष, आदर, काल, पक्ष, भाव, वाच्य, करण, अकारण आदिका आधारमा रुप परिवर्तन नहुने शब्दलाई अविकारी शब्द भनिन्छ।
.

Very Short Questions

0%

ASK ANY QUESTION ON नेपाली शब्दको पहिचान र प्रकार

No discussion on this note yet. Be first to comment on this note